माओवादी केन्द्रीय कमिटी वैठक : मञ्चमा सँगै देखिए प्रचण्ड र नारायणकाजी

काठमाडौं, फागुन २० ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी वैठक दुई घण्टा ढिलो गरी शुरु भएको छ । वैठकमा सहभागी हुन शीर्ष नेताहरु बैठकस्थल पुगिसकेका छन् । राष्ट्रिय सभा गृहमा बसेको बैठकको मञ्चमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मालगायतका नेताहरु देखिएका छन् ।

शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक एजेण्डा तय गर्ने भन्दै आन्तरिक छलफलमा जुटेपछि दिउँसो १ बजेलाई सारिएको थियो । एमसीसी अनुमोदनले पार्टीमा विवाद चर्किएको छ । महाधिवेशन र पार्टी निणर्य विपरीत अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एकलौटी एमसीसी अनुमोदनका पक्षमा निणर्य गराएको भन्दै नारायणकाजी श्रेष्ठ समूह रुष्ट बनेको छ । रुष्ट पक्षलाई मिलाउनेभन्दा ‘पार्टी छोडेर गए हुन्छ’भन्ने प्रचण्डको भनाइले आक्रोशित श्रेष्ठ समूह आन्तरिक छलफल पनि तीव्र बनाएको छ ।

केन्द्रीय कमिटीको पहिलो बैठकबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सर्वसम्मत अध्यक्ष बनाउन सफल भएपनि आन्तरिक विवादले हालसम्म अन्य पदाधिकारी चयन गर्न सकेका छैनन् । आन्तरिक मतभेद बढेपछि बैठकका एजेण्डा टुंग्याउन खुमलटारमा पूर्व स्थायी कमिटी आन्तरिक परामर्शमा जुटिरहेको छ ।

श्रेष्ठले एमसीसी एजेण्डमा राख्नुका साथै सुरूमै यसमा छलफल गराउनुपर्ने अडान लिएका छन्। मन्त्रिपरिषद् गठनदेखि नै चित्त दुखाएका श्रेष्ठ एमसीसीका विपक्षमा खुलेर पार्टी निणर्यविरुद्ध उभिएका थिए । उनी पक्षधर नेताहरूले संसद्को छलफलमै एमसीसी अनुमोदन गर्न नहुने धारणा राखेका थिए । प्रचण्डको एकल निणर्य सामू उनीहरूको केही चलेन। एमसीसी संसद्बाट अनुमोदन भयो ।

श्रेष्ठ समूहले महाधिवेशनबाट अध्यक्षबाहेकको पदाधिकारी पनि अहिलेसम्म चयन नगरेकामा पनि आपत्ति जनाउँदै आएको छ । केन्द्रीय समितिको बैठकमा स्पष्ट धारणा अध्यक्षबाट नआएमा पार्टीबाट अलगसम्म हुने रणनीति बनाएको छ । यो समूह २० भन्दा बढी केन्द्रीय सदस्य छन् ।

गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन।महाधिवेशनको हलबाट पदाधिकारीको संख्या र पदाधिकारी निर्वाचन गर्न नसकेपछि टुंग्याउने जिम्मा केन्द्रीय कमिटीको पहिलो बैठकलाई दिएको थियो ।

तर केन्द्रीय कमिटीको पहिलो बैठकबाट प्रचण्डले आफूलाई सर्वसम्मत अध्यक्ष बनाउन सफल भएपनि आन्तरिक विवादले हालसम्म अन्य पदाधिकारी चयन गर्न सकेका छैनन् । महासचिव कसलाई बनाउने भन्नेमा सहमति जुट्न नसकेपछि महाधिवेशनको बन्दसत्रले पदाधिकारी चयन गर्न नसकेको हो । बन्दसत्रले पदाधिकारीसहितको विधानमा आवश्यक परिमार्जन गरेर अन्तिम रुप दिने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिइएको छ । मुख्यत नेकपा माओवादी केन्द्रको महासचिव चयनमा सकस देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्