एमसीसी विरोधी मोर्चा बनाउन विप्लव सक्रिय, भीम रावलसँग भेटवार्ता

काठमाडौं, फागुन १९ ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता भएको छ ।

रावल निवासमा विप्लवले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित पुगेर भेटवार्ता गरेका हुन् ।

विप्लव नेतृत्वको नेकपाले एमसीसी अनुमोदनको विरोध गर्दै विरोधका कार्यक्रम सार्बजनिक गरेपछि एमसीसीको विपक्षमा रहेका नेताहरुसँग छलफललाई तिब्रता दिएको छ ।

एमाले नेता रावलले ट्वीट गर्दै विप्लव र प्रकाण्डले राष्ट्रिय स्वाधिनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिएको बताएका छन् ।

उनले भनेका छन्-

‘आज नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेता खड्ग विश्वकर्मासंग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो । देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो ।’
विप्लवले यसअघि एमसीसीको विरोधमा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्