चुनावी तालमेलबारे प्रदेश कार्यसमितिको सल्लाहपछि निर्णय हुन्छ : नेता सिंह
काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका लागि पार्टीले सातवटै तहका कार्यसमितिको सल्लाहअनुसार निर्णय लिने बताएका छन्।
काभ्रेको धुलिखेलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी तालमेलका बारेमा निर्णय गर्नका लागि सबै तहका कार्यसमितिहरुसँग राय लिइने बताएका हुन्।
‘नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी भएकाले केन्द्रीय कार्यसमिति, सातै वटा प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति, १६५ संघीय निर्वाचन क्षेत्र कार्यसमिति, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, ७ सय ५३ पालिका कार्यसमिति, ६ हजार ७ सय ४३ वडा कार्यसमितिको भ्यु प्वाइन्ट लिएर पार्टी एउटा डेमोक्रेटिक तवरले एक्सरसाइज गरेर के गर्दा राम्रो हुन्छ,’ नेता सिंहले भने, ‘पार्टीको हित हुने, संविधान जोगाउनका लागि, संघीयतालाई संस्थागत गर्नका लागि, विकास निर्माणका कार्य अगाडि बढाउनका लागि र सुशासनलाई सर्वोपरी हितमा राखेर कदम अगाडि बढाउँछ।’
उनले १४औं महाधिवेशनबाट पार्टीमा नयाँ ऊर्जा उत्पन्न भएको जिकिर गर्दै कांग्रेस एक्लै पनि चुनाव लड्न तयार भएको बताए। ‘कांग्रेसको भर्खरै अस्ती महाधिवेशन सम्पन्न भएको छ,’ सिंहले भने, ‘अर्गनाइजेसनमा ऊर्जा पैदा भएको छ। ऊर्जाअनुसार कांग्रेस एक्लै लड्नलाई पनि तयार छ।’
प्रतिगमन रोक्न पाँचदलीय गठबन्धन बनेको र गठबन्धन सरकारले संविधानको भावना र मर्मअनुरुप स्थानीय तहको निर्वाचन मिति तोकेको उनले उल्लेख गरे। ‘गठबन्धन सरकार प्रतिगमन रोक्नका लागि बनेको सरकार हो। संविधानलाई ट्रयाकमा राख्ने, संविधानको भावना र मर्मअनुरुप सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेको छ,’ सिंहले भने, ‘त्यहीअनुसार निर्वाचन आयोगले आफ्नो काम अगाडि बढाएको छ।’















प्रतिक्रिया दिनुहोस्