पोखरा- धनगढी सीधा उडान सुरु , कति छ भाडा ?
काठमाडौं, फागुन १८ । पर्यटकीय सहर पोखराबाट धनगढी सीधा उडान सुरु भएको छ । बुद्ध एयरले बुधबारदेखि उडान सुरु गरेको हो ।
नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको पहलमा सीधा उडान सुरु गरिएको हो । योसँगै पोखराबाट प्रदेश १ र कर्णालीबाहेक सबै प्रदेशमा सीधा हवाई कनेक्सन जोडिएको छ । धनगढीमा साताको हरेक आइतबार, बुधबार र शुक्रबार उडान हुने छ ।
बिहान ११ : ४० मा पोखराबाट धनगढी उड्ने जहाज धनगढीबाट १२ः५० मा फर्किनेछ । ५५ मिनेट उडानका लागि ६ हजार नौ सयदेखि १२ हजार दुई सयसम्म भाडा तोकिएको छ ।
बुधबार नाट्टाको टोली पर्यटन प्रवद्र्धन भ्रमणका लागि धनगढीतर्फ लागेको छ । शुक्रबार सुदुरपश्चिमका तीन जना मन्त्रीसहित टोली पोखरा आउने नाट्टाका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए ।
योसँगै अब पर्यटकीय नगरी पोखरा र सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी हवाइ सेवामार्फत जोडिएका छन् । स्थलमार्ग हुँदै पोखरादेखि धनगढी पुग्न २४ घन्टाभन्दा बढी समय लाग्छ । हवाइ मार्गबाट भने ५५ मिनेटमै पुग्न सकिन्छ ।
कोरोना महामारीपछि पर्यटन क्षेत्र लयमा फर्किन लागेको बेला पोखरा र धनगढीको हवाइ सम्बन्धले व्यवसायीहरूलाई राहत पुग्ने मन्त्री शर्माले बताए ।
नाट्टाकै समन्वयमा यसअघि मधेश प्रदेशका मुख्यमन्त्री डा. लालबाबु राउतको टोली पोखरा भ्रमणमा आएको थियो ।
केही समयपछि नै भद्रपुर र विराटनगरमा पनि हवाई उडानको तयारी छ । यसअघि मधेश प्रदेशको सिमरा, बागमतीको राजधानी काठमाडौंसहित भरतपुर, लुम्बिनीको भैरहवा र नेपालगन्जमा पोखराबाट सीधा उडान हुँदै आएको छ । बुद्ध एयरले पोखरालाई केन्द्र बनाएर नजिकका सहरमा उडान भर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्