ओलीलाई जवाफ दिदै भीम रावलले भने- म पार्टी सिद्धान्त अनुरुप उभिएको छु
काठमाडौं, फागुन १८ । नेकपा एमालेका नेता डा. भीम रावलले आफु पार्टीको सिद्धान्त अनुसार उभिएको दाबि गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत नेता रावलले संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत भएको बताउदै आफु पार्टीको सिद्धान्त अनुरुप नै उभिएको बताएका हुन् ।
यसअघि मंगलबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले नेता रावल पार्टीको नीति विपरित व्यक्तिगत रुपमा हिरो हुन खोजेको आरोप लागाउदै उनले पार्टीको अनुशासन तोडेको आरोप लगाएका थिए ।
अध्यक्ष ओलीको सो आरोपको जवाफ दिदै नेता रावलले भनेका छन्- एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसीसंगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ । संसदमा छलफलमा सहभागी हुननदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत हो । म पार्टी सिद्धान्त अनुरुप उभिएको छु । राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।















प्रतिक्रिया दिनुहोस्