नेपाली सेनाले मनायो सेना दिवस, कलाकौशल प्रदर्शन
काठमाडौँ, फागुन १७ । नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवसका अवसरमा बढाइँ कवाजसहितको विशेष समारोह गरेको छ ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सेना दिएको मनाएको हो ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् ।यसअवसरमा सेनाले विभिन्न कलाकौशल देखाउनुका साथै हातहतियार प्रदर्शन गरेको छ ।
राइफल तथा तोपबाट बढाइँ कवाज, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकोप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस लेखिएको व्यानरसमेत प्रदर्शनी गरिएको थियो ।
त्यस्तै, समारोहमा राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापनसम्बन्धी विविध
गतिविधि झल्किने झाँकीसमेत प्रदर्शन गरिएको थियो । आकर्षक सैनिक कला फ्रि–फल जम्प गरिएको थियो ।त्यसक्रममा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नुका साथै वीर शहीदहरूप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् ।
समारोहमा राष्ट्रपति भण्डारीले सिपाही वार्षिक–२०७८ को विमोचन गर्नुको साथै फ्रि–फल जम्पमा प्रथम र द्वितीय हुने सैनिकहरूलाई पुरस्कारसमेत वितरण गरेकी थिइन् ।
समारोहमा राष्ट्रपति भण्डारीका साथै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटालगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्