पल पक्राउ प्रकरण : पीडित नाबालिगको पक्षमा बोले रेखा र ऋचा
काठमाडौं , फागुन १७ । कलाकार पल शाहमाथि बलात्कार आरोप लगाउने किशोरीको बारेमा सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी भइरहेका बेला अभिनेत्रीद्वय रेखा थापा र ऋचा शर्माले मुख खोलेका छन्।
मंगलबार बिहान रेखाले फेसबुक स्टाटस लेख्दै नाबालिगलाई संरक्षण गर्नुपर्ने दायित्व समाजको भएको उल्लेख गर्दै नाबालिगमाथि भइरहेका आक्रमणको विरोध गरिन्।
यसैगरी अभिनेत्री ऋचा शर्माले पनि नाबालिगको संरक्षण गर्ने जिम्मा राज्यको भएको र आफूहरू पनि राज्यको हिस्सेदार भएकोले उनीहरुको संरक्षण गर्नुपर्ने दायित्व आफूहरूको पनि भएको उल्लेख गरेकी छिन् । उनले नाबालिगको करमै पनि शारीरिक सम्पर्क भएको छ भने त्यसलाई कानुनले बलात्कार मान्ने र कानुनमा यससम्बन्धी स्पष्ट व्यवस्था हुँदाहुँदै नाबालिगको विश्वास तोड्नेको पक्षमा समाज उभिने कल्पना पनि गर्न नसकिने बताएकी छन्।
रेखाले लेखेकी छिन्, ‘२० वर्ष मुनिका छोरीहरु बालिका हुन्। बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्छन्। समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो। कोसँग लभ छ, कति पटक यौन सम्पर्क भयो भन्नेजस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन। समाजको आडम्बरको त कुरा गरी साध्य छैन। केटी मान्छे भने पछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ।’
पल शाहले नाबालिगलाई बलात्कार गरेको आरोपमा उजुरी गरेपछि मनोरञ्जन उद्योगकै थुप्रै कलाकार शाहलाई न्याय चाहियो भन्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन्। रेखा र ऋचाले भने कानुनको व्यवस्थालाई उद्धृत गर्दै न्यायको पक्षमा उभिन आग्रह गरेका छन्।
ऋचा लेख्छिन्, ‘मुलुकी अपराध संहिताले भन्छ– १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो। कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो।
प्रतिक्रिया दिनुहोस्