सभामुखको राजीनामा पर्खिरहेका छौं, नभए महाभियोग आउन सक्छ: ओली

काठमाडौं , फागुन १७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटविरुद्ध महाअभियोग प्रस्ताव आउन सक्ने बताएका छन् ।

आज काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले जिम्मेवार पार्टी भएकाले सक्छु भन्ने हेक्का भए पनि महाअभियोगको विषयमा परिस्थिति हेरेर बसेको बताए ।

‘सभामुखमाथि महाअभियोग ल्याउन सकिन्छ । नल्याउन पनि सकिन्छ’, उनले भने, ‘उहाँले राजीनामा नगरे ल्याउन सकिन्छ । उहाँको राजीनामा पर्खिरहका छौं । संसद्ले निष्कासन गर्ने अवस्था नआओस् भन्ने छ । हामी अवस्था हेरेर विचार गर्छौ ।’

ओलीले पार्टी विभाजनका लागि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौताई हतियारका रूपमा प्रयोग गरिएको बताएका छन् ।

प्रतिनिधिसभाबाट फागुन १५ गते व्याख्यात्मक घोषणासहित पारित भएको एमसीसीबारे मंगलबार ओलीले पत्रकार सम्मेलन आयोजना गरेका छन् । ओलीको वक्तव्य उपमहासचिव प्रदीप ज्ञवालीले वाचन गरेका थिए ।

ओलीले वक्तव्यमा लेखेका छन्, ‘एमसीसी सम्झौता अहिलेका सत्ता गठबन्धनमा रहेका दलहरूले विवादास्पद बनाए । आफू सम्झौता गर्ने जनताले जवाफ माग्दा उत्तर दिनुको साटो प्रश्न एमसीसीतिर तेर्स्याए । सन्धि सम्झौताका रूपमा राज्यले गर्नुपर्ने विषयमा दलका नेताले हात हालेर कूटनीतिक मर्यादाको उलंघन गरे । हाम्रो पार्टी विभाजनका लागि समेत हतियारका रूपमा यसैलाई प्रयोग गरियो ।’

एमाले गत भदौमा विभाजन भएको थियो । अध्यक्ष ओलीले त्यसरी पार्टी विभाजनका लागि एमसीसी हतियारका रूपमा प्रयोग भएको बताएका हुन् ।

‘एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह भएको थिएन’   नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका छन् । आवश्यकता अथवा राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमानमा धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै उनले यस्ता कुरा सम्झौता गर्ने बेलामा नै सबै प्रावधानहरु हेर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘गठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग कुनै सल्लाह गरेको छैन । हामीले त्यो बेला प्रमुख प्रतिपक्षमा हामी थियौं तर हामीसँग कुनै परामर्श गरिएन ।’ एमाले नेतृत्वको सरकार ढाल्ने र नयाँ गठबन्धन बनाएर एमसीसी पास गर्ने सहमति गर्दै आफ्नो नेतृत्वको सरकार ढालेको दाबी गर्दै उनले संसद्बाट एमसीसी पास हुनुपर्छ भन्ने अमेरिकी दृष्टिकोण सुरुदेखि रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्