यथास्थितिमा एमसीसी पास नगरौं, युक्रेनबाट पाठ सिकौं : गिरिराजमणि पोखरेल

काठमाडौं, फागुन १५ ।  नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताएका छन्।

जारी प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै उनले यो सम्झौता विशुद्ध विकासको परियोजना नभएको दाबी गरे।उनले एमसीसी सम्झौताका कतिपय बुँदा नेपालको स्वाधिनता, सार्वभौमसत्ताविरुद्ध रहेको दाबी पनि गरे।

उनले भने, ‘एमसीसी विशुद्ध विकासका लागि आएको भए हामीलाई कुनै आपत्ति हुने थिएन। सम्झौतामा यस्ता सर्त छन् जुन नेपालको सार्वभौमसत्ता विरोधी छन्।’

उनले यो सम्झौता जस्ताको तस्तै पारित भए विदेशीले समानान्तर सरकारजस्तै सञ्चालन गर्ने दाबी गरे।एमसीसी सम्झौताअन्तर्गत कतिपय गोप्य सम्झौता पनि भएको तर त्यो सार्वजनिक नगरिएको दाबी पनि उनले गरे।

उनले अमेरिकाबाट धम्की आएको उल्लेख गर्दै एमसीसी अमेरिकाकाे इन्डो प्रशान्तकै अंगका रूपमा रहेको भनेर विज्ञले बताइसकेको उल्लेख गरे।

‘युक्रेनबाट पाठ सिकौं, नेपाललाई थप युद्धभूमि बनाउनबाट रोकौं, पाेखरेलले भने, त्यसैले परिमाजर्नन र संशोधन गरेर मात्र पास गरौं।’

प्रतिक्रिया दिनुहोस्