एमसीसीकै पक्षमा ढल्किँदै प्रचण्ड-माधव,  थप निर्णय लिन बैठक बस्दै

काठमाडौं , फागुन १५ । माओवादी केन्द्र र एकीकृत समाजवादी संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी अनुमोदन गर्न तयार बनेका छन् । सत्ता साझेदार दुवै दल यसअघि एमसीसीसम्बन्धी सरकारी प्रस्तावकै विरोधमा उभिएका थिए । उनीहरूले विपक्षमा मतदान गर्ने भनेका थिए ।

दुवै दलका शीर्ष नेताले प्रतिनिधिसभाको आइतबारकै बैठकबाट एमसीसी अनुमोदन गर्न साथ दिने आश्वासन दिएको बालुवाटार स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसबारे पार्टीबाटै निणर्य गर्न भनेका छन् ।

त्यसलगत्तै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आइतबार बिहान स्थायी कमिटी बैठक बोलाएका छन् । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेताहरूसँग छलफल थालेका छन् । प्रतिनिधिसभा बैठक आइतबार १ बजे बोलाइएको छ ।

एमसीसी सैन्य रणनीति नभएको, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुने, लेखापरीक्षण नेपालको महालेखा परीक्षकको कार्यालयले गर्नेलगायत विषयमा व्याख्यात्मक घोषणा गर्नुपर्ने प्रस्ताव उनीहरूले गरेका हुन् ।

मेरिकी सहयोग सम्झौता ‘एमसीसी’ पारित गर्नेबारे संस्थागत निर्णय गर्न सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को आज (आइतबार) बैठक बस्दैछ ।

सम्झौता पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निणर्य लिन बैठक डाकेका हुन् । माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा अहिले बिहान बस्दै छ भने एकीकृत समाजवादीले ११ बजे सचिवालय बैठक बोलाएको छ ।

एमसीसी सम्झौताबारे विवादमा आएका बुँदाहरुलाई कानुन ब्यवसायीहरुले ब्याख्यासहितको टिप्पणी तयार पार्ने र सोही ब्याख्यामा टेकेर सम्झौता पारित गर्ने गरी बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ । तर, यी दुवै पार्टीभित्र एमसीसीको चर्को विरोध रहेकाले नेतृत्वलाई संस्थागत निर्णय गराउन हम्मेहम्मे पर्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्