ओलीको दावी : प्रचण्ड-माधव नेपाल एमसीसी पास गर्न राजी भइसकेका छन्

काठमाडौँ , फागुन १४ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसी संसद्बाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई वचन दिइसकेको बताएका छन् ।

शुक्रबार बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल-नेपाल दुवैले गठबन्धन नटुटाउने शर्तमा एमसीसी पास गर्ने वचन दिएको ओलीले दाबी गरेका हुन् । आज (शनिबार) काठमाडौंमा आयोजित प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै एमसीसीबारे कांग्रेसले आफ्नो पार्टीसँग छलफल गरेपछि दाहाल-नेपाल गठबन्धन टुट्ने डरले अत्तालिएको दाबी समेत गरे ।

तर प्रधानमन्त्री देउवाले भने एमसीसी पास गर्न इमान्दार हुन दाहाल-नेपाललाई सचेत गराएको ओलीको भनाइ थियो । अध्यक्ष ओलीले आफ्नो पार्टीले भने देश र जनताको हितमा त्यसबारे आवश्यक निणर्य लिने दोहोर्‍याए ।गैरसांसदहरुलाई संसद्मा राखेर सभामुख अग्निप्रसाद सापकोटाले संसद चलाएसम्म आफूहरुले संसद्को कुनै पनि प्रक्रियामा भाग लिन नसक्ने अडान पनि दोहोर्‍याए ।

ओलीले भने, ‘एमसीसीबारे हामीसँग कांग्रेसले कुरा गर्‍यो । कांग्रेसले कुरा गरेको थाहा पाएपछि साथीभाइको सातो गएछ-गठबन्धन टुट्छ भनेर । हिजो बिहान गए प्रचण्ड, माधव नेपाल कुदेर शेरबहादुर देउवाकहाँ, गएर भन्नु भो-हामी एमसीसी पास गर्छौँ, गठबन्धन जोगाइदिनुस् । हामीलाई सडकमा नफालिदिनुस् प्रभु । भनेपछि प्रधानमन्त्री देउवाजीले हेर्छु, कत्तिको इमान्दार छौं । इमान्दार रहेछौ भने ठीक छ भनेर प्रधानमन्त्रीजीले पठाउनु भयो ।’

अध्यक्ष ओलीले जनप्रतिनिधिहरुलाई एमसीसीबारे आवश्यक निणर्य लिन आफूले प्रधानमन्त्री हुँदा सो प्रस्ताव संसद्मा पेस गरेको पनि स्पष्ट पारे । ओलीले न्यायालय सत्तारुढ दलको सेटिङमा चलेको तर आफ्नो दलले सेटिङ गरेको भनेर झुट प्रचार भइरहेको गुनासो समेत गरे ।

प्रतिक्रिया दिनुहोस्