चोलेन्द्रविरुद्धको महाअभियोग संसदमा निर्णयार्थ पेस नै हुँदैन: ओली

काठमाडौं, फागुन १४ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोेलेन्द्र शमसेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग संसदमा निर्णयार्थ प्रस्तुत नै नहुने ठोकुवा गरेका छन् ।

एमाले सम्बद्ध कानून व्यवसायीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले चोलेन्द्रविरुद्धको महाअभियोग पारित गर्नका लागि नभई अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने उद्देश्यले ल्याइएको आरोप लगाए ।

उनले भने, ‘यो महाअभियोग पारित गर्नका लागि ल्याइएको हो भन्ने भ्रममा कोही नपरे हुन्छ । यो त लम्ब्याउँदै लम्ब्याउँदै समय टार्ने हो । हेरिरहनु होला चोलेन्द्रविरुद्धको महाअभियोग कुनै पनि दिन संसदमा निर्णयार्थ पेस नै हुँदैन । न्यायिक क्षेत्रलाई अस्तव्यस्त बनाउन ल्याइएको हो ।’

अध्यक्ष ओलीले चोलेन्द्रलाई महाअभियोग लगाइएकै भोलिपल्ट स्थानीय चुनाव रोक्ने दरपीठ भएको रिट निवेदन जगाइनुले पनि कम्फरटेबल अदालतका लागि ल्याइएको बताए । उनले एमाले निकट वकिलहरुलाई परमादेशीहरुको भण्डफोर गर्न समेत निर्देशन दिएका छन् ।

ओलीले नेपाल बार एशोसिएसन र आन्दोलनकारी वकिलहरुले न्यायालयमा देशलाई अस्तव्यस्त र अस्थिर बनाउने प्रचण्ड विचारको प्रतिनिधित्वि गरेको आरोप समेत लगाएका छन् । ओलीले भने, ‘बार र केही बरिष्ठ अधिवक्तालले देशलाई अस्तव्यस्त राख्नु पर्छ भन्ने प्रचण्ड विचारको प्रतिनिधत्व गरेका छन् । प्रचण्ड–माकुने विचारको स्पष्ट प्रतिनिधित्व गरेको त्यो समूहमा एमाले निकट वकिल सहभागी हुन मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्