नेपालले आज हङकङको सामना गर्दै
काठमाडौं । आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग भिड्दै छ । आफ्ना अघिल्ला ३ खेल हारे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना भने झिनो आसा अझै जीवित रहेको छ ।
नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित हुन पुग्यो । शनिबार खेलिएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । तीन हारका बावजुद नेपालको सुपर सिक्समा पुग्ने सम्भावना अति न्युन रहेको छ ।
अर्को तर्फ हङकङ स्कटल्यान्ड र जिम्बावेसँग हारे पनि अफगानिस्तानविरुद्ध जित दर्ता गर्न सफल रह्यो । समूह ‘बि’ मा नेपाल र हङकङसहित जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान रहेका छन् । स्कटल्यान्ड र जिम्बावे सुपर सिक्समा प्रवेश गरिसकेका छन् भने एक स्थान अझै खाली रहेको छ ।
अफगानिस्तान र हङकङको दुईदुई अंक रहेको छ भने अंकविहिन रहेको नेपाल पुछारमा रहेको छ । आज हङकङविरुद्ध विशाल अन्तरको जित दर्ता गर्न सके नेपालले अफगानिस्तानलाई रनरेटमा उछिन्न सक्छ । तर हङकङलाई सामान्य अन्तरले हराउँदा नेपाल चौथो स्थानमा उक्लिने छ र प्ले–अफ खेल्दै एकदिवसीय मान्यता पाउन सक्ने सम्भावना रहेको छ ।
नेपालको ओपनिङले निकै आलोचना खेपिरहेको बेला आज ओपनरहरुको प्रस्तुति हेर्नलायक रहने छ । अघिल्लो खेलमा शरद भेषावकर ह्यामस्ट्रिङको चोटका कारण सहभागी थिएनन् भने उनको स्थानमा आएका करण केसीले सन्तोषजनक प्रदर्शन गरेका थिए ।
आज पनि ब्याटिङ लाइनअपमा केहि फेरबदल रहने देखिन्छ । नेपालको हङकङसँग इतिहास भने खराब छ । खेलिएका दुई पछिल्ला खेलमा हङकङले दुवैमा जित हांसिल गरेको छ । आजको खेल नेपाली समयअनुसार दिउसो १.१५ बजे सुरु हुने छ ।
प्रतिक्रिया दिनुहोस्