कोभिड बिरुद्धको खोप शतप्रतिशत जनतालाई लगाउनुपर्छ : अध्यक्ष तिमिल्सिना
फागुन १३, सुर्खेत। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शतप्रतिशत जनतालाई कोभिड-१९ विरुद्धको खोप लगाउन प्रेरित गर्ने जिम्बेवारी स्वास्थ्यकर्मी सँगै जनप्रतिनिधि र राजनीतिकर्मीको पनि भएको बताउनुभएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार आयोजित ‘कोभिड-१९ बिरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक एक दिने अन्तर्क्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिले देशभर खोप अभियान चलिरहेकाले यसबारे समुदायलाई सचेत गराउन र सबैको पहुँचमा पुर्याउन लाग्नुपर्ने बताउनुभएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष तिमिल्सिनाले आम नागरिकको आवश्यकता र समस्या बुझ्ने र नजिकबाट चिन्ने जनप्रतिनिधि भएकाले कोभिड बिरुद्धको खोप अहिलेको आवश्यकता भएकाले आ-आफ्नो ठाउँबाट भूमिका निर्बाह गर्न आग्रह गर्नुभयो।
कर्णाली प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु र प्रदेश सभा सदस्यहरू सहभागी कार्यक्रममा उहाँले सरकारको तथ्याङ्क हेर्दा कोभिड विरुद्धको खोप उपलब्ध हुँदाहुँदै पनि लगाउन नमान्ने जनसंख्या उल्लेख्य रहेकाले खोप लगाउन जान जनतालाई प्रेरित गर्नुपर्ने बताउनुभयो।
‘अहिले कोभिड विरुद्धको खोप अभियान देशभर चलिरहेको छ।कतिपय ठाउँमा खोप लगाउन लक्षित समूह नपुगेको भन्ने छ,’ उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेश र मधेस प्रदेशमा खोप लगाएकाको तथ्याङ्क राष्ट्रिय तथ्याङ्कभन्दा कम देखिन्छ। यसमा सरकारसँगै प्रदेश सभा सदस्य तथा स्थानीय जनप्रतिनिधिले खोप लगाउन आफ्ना जनतालाई प्रोत्साहित गर्नुपर्छ।’
त्यसैगरी राजनीतिक पार्टीका कार्यक्रममा पनि खोप अभियानलाई एजेन्डा बनाउनुपर्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधि र राजनीतिक दल आफ्नो स्वार्थभन्दा माथि उठेर जनताको सेवामा लाग्नुपर्ने धारणा राख्नुभयो।
‘जनप्रतिनिधिको व्यवहार आम नागरिकले अनुसरण गरेका हुन्छन्,’ उहाँले भन्नुभयो, ‘तसर्थ शनप्रतिशत खोपको मात्रा पुर्याउन हाम्रो भूमिका महत्वपूर्ण हुन्छ।’
अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सभा सभामुख राजबहादुर शाही, मन्त्री तथा सांसदहरु, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. पाण्डव, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्र लगायतको उपस्थिति रहेको थियो।
अन्तर्क्रिया कार्यक्रममा कोभिड-१९ रोकथाम र खोपसम्बन्धी जोखिम सञ्चार र सामुदायिक सहभागिता सम्बन्धी स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विभिन्न स्वास्थ्य विशेषज्ञहको प्रस्तुति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्