सरकारले एमसीसी पास गरे देश दुर्घटनातिर जान्छ : झलनाथ खनाल
काठमाडौं , फागुन १३ । सत्तारुढ नेकपा समाजवादी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले एमसीसी पास गरे देश दुर्घटनातिर जाने चेतावनी दिएका छन् ।
उनले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि मुलुकमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवा सपना मात्र भएको बताए । नेता खनालले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद् विभाजित बनिरहेको बताएका छन् ।
यस्तो बेलामा देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी सम्भावनालाई उजागर गर्न आवश्यक रहेको उनले औंल्याएका थिए । उनले भने, ‘एमसीसी मुद्दाले हाम्रो देशको गठबन्धन सरकारभित्र विभाजन आयो । संसद्मा विभाजन आयो । राजनीतिक पार्टीहरूका बीचमा विभाजन आयो र आम जनताबीचमा समेत विभाजन आयो । यो गम्भीर सवाल हो । यो गम्भीर सवालमा कमसेकम पनि नेपाल एकताबद्ध हुनुपर्छ । राष्ट्रिय सहमति हुनुपर्छ ।’
यस्तै सहमतिका सम्भावना खोज्नुपर्ने पनि उनको सुझाव थियो । ‘जनता, देश जेसुकै होस् एमसीसी पास गर्नुपर्छ भन्ने लाइनमा जानुभयो भने देश अलि दुर्घटनातिर जान्छ । नेकपा एमालेसँग सहमति गरेर मुलुकमा शान्ति कायम होला भन्ने सपना देख्नु भएको छ भने यो दिउँसो आकाशतिर हेरेर देखेको सपना मात्रै हो । त्यो सपना नदेखे पनि हुन्छ,’ नेता खनालले भने ।
प्रतिक्रिया















प्रतिक्रिया दिनुहोस्