प्रतिनिधि सभाको बैठक आज बस्दै, एमसीसीमाथि छलफल गर्ने कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ । हिजो (बिहीबार) बस्न लागेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए । त्यसपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।
बिहीबार संसदमा अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदनका लागि बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री देउवाले बैठक रोक्न लगाएका थिए । हिजोको वैठक स्थगित गर्न लगाएर प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरुसँग छलफल गरेका थिए ।
सामुहिक र एकल रुपमा गरिएका छलफल पनि निष्कर्षमा पुगिसकेको छैन । प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीबीचको ‘वान टु वान’ वार्ता पनि निष्कर्षविहीन बनेको छ । ओलीले पुरानै अडान दोहोर्याएका कारण छलफल निष्कर्षविहीन बनेको थियो ।
आज बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यक्रममा पनि एमसीसी समेटिएको छ । आजको संसद् बैठकमा पनि ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) माथि सामान्य छलफल गरियोस’ भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले नै प्रस्तुत गर्नुपर्ने सम्भावित कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस्