लोकतन्त्र मासिन्छ की भन्ने चिन्ता नगर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र मासिन्छ’ भन्ने चिन्ता नगर्न प्रतिपक्षिदल काँग्रेसलाई आग्रह गरेका छन् ।
प्रधामन्त्री ओली प्रतिनिधिसभाको वैठकमा आज विश्वासको मत लिंदै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले वर्तमान सरकारले लोकतन्त्रको रक्षा नै गर्ने भएकाले अनावश्यक चिन्ता नलिन आग्रह गरे । उनले सरकार समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै लोकतन्त्रमा मात्रै समृद्धिको यात्रा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

सरकारले औचित्यका आधारमा संविधान संशोधन गर्ने विश्वास व्यक्त गर्दै संविधान संशोधन नै हुन सक्दैन भनेर आफूले कहिल्यै नभनेको जिकिर गरे । उनले भने, “सरकारले औचित्यका आधारमा संविधान संशोधन गर्छ । सबै असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउँछ ।”

लडाइँ, झगडाबाट मुलुकले मुक्ति पाइसकेको भन्दै उनले अब त्यसको कुनै आवश्यकता नभएकाले देश एकजुट छ भन्ने सन्देश दिन सबै पक्षको समर्थन चाहेको उल्लेख गरे ।

सरकारले जनविरोधी काम ग¥यो भने खबरदारी नगरुन् भन्ने आफ्नो उद्देश्य नरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले भने, “हामीसँग भएको दुईतिहाई मत देश एकजुट छ भन्ने सन्देश जनतालाई र विश्वलाई दिन आफूले सबैलाई आग्रह गरेको हो ।”

उनले आफू एमाले र माओवादी केन्द्रको मात्रै प्रधानमन्त्री नभई नेपालको प्रधानमन्त्री भएकाले कुनै पनि शंका नगर्न अनुरोध गर्नुभयो । प्रधानमन्त्रीले भने, “म प्रधानमन्त्री एमालेको होइन, एमाले र माओवादी केन्द्रको मात्र होइन, नेपालको प्रधानमन्त्री हो । म त्यहीअनुसार काम गर्छु । एमाले र माओवादी केन्द्रको तालमेलको नीतिअनुसार मलाई प्रधानमन्त्रीमा पठाएको हो । तर म अहिले देशको प्रधानमन्त्री हो ।”

वर्तमान सरकारले देशको पक्षमा काम गर्ने दृढता पेश गर्दै प्रधानमन्त्रीले सबै प्रकारको समस्याको समाधान तीव्रगतिका साथ गर्न चाहेको उल्लेख गरे । सरकारले गन्तव्य तोकेर, लक्ष्य तोकेर, बाटो तय गरेर नीति तयार गरेर योजना बनाएर अगाडि बढ्ेको भन्दै प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकार हिँड्दै जाँदा कहाँ पुगिएला भनेर होइन लक्ष्य तोकेर यात्रा तय गरेको स्पष्ट पारे ।

जनताका सामु गरेको सबै प्रतिबद्धता पूरा गरेरै छाडिने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले आफ्नो प्रतिबद्धतामा कुनै कमी नआएको बताए । वादविवाद प्रतियोगिता गरेर केही फाइदा नभएको भन्दै उनले आफू परिणाममा विश्वास गर्ने र देशको अर्थतन्त्रमा सकारात्मक परिणाम निकालेरै छाड्ने स्पष्ट पारे ।

जनताको जीवनमा परिवर्तन ल्याउने गरी वर्तमान सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले आफ्नो प्रतिबद्धतामा कुनै पनि कमी नआउने उल्लेख गरे ।

प्रधानमन्त्रीले भने, “के गर्दा मुलुकको पक्षमा काम हुन्छ, कसरी राम्रो हुन्छ भन्नेमा मेरो इमान्दारिता देश र जनताप्रति हो, सुशासनका लागि हो, विकासका लागि हो । मेरो विश्वासमा भरोसा गर्दा फरक पर्दैन ।”

प्रधानमन्त्रीले कैलाली घटनाका दोषीलाई गिरफ्तार गरेर कारबाही गरिएको सदनलाई जानकारी दिनुभयो । उहाँले भने, “बोक्सी प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्न निर्देशन दिइएको छ । छाडिएका दोषीलाई पुनः कारबाही गर्न पक्राउ गरिएको छ ।”

सामाजिक पछौटेपनका कारण बोक्सीको घटना घटेको भन्दै प्रधानमन्त्री ओलीले दोषीलाई कडा कारबाही गरेर छाड्ने र कोही कसैलाई पनि छुट नदिइने स्पष्ट पारे । उनले वर्तमान सरकारले सामाजिक अपराध, मानवता विरोधी घटना र दण्डहीनतालाई सहन गरेर नबस्ने र सह्य नहुने पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्