नायक पल शाहविरुद्ध समीक्षाले दिइन् प्रहरीमा उजुरी, के छ सजायको व्यवस्था ?

काठमाडौं, फागुन ११ । गायिका समीक्षा अधिकारीले नेपाली चलचित्रका नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । उनले जबरजस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।पल शाहबाट आफू पीडित भएको भन्दै ती गायिकाले उजुरी दिएकी हुन् ।

प्रहरीका अनुसार दिदी र भिनाजुसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर उनले निवेदन दिएकी हुन् । उनीहरूको सम्बन्धका बारेमा लामो समयदेखि विभिन्न चर्चाहरु भइरहेको थियो । पछिल्लो समय सञ्चारमाध्यममा समीक्षा अधिकारी र पल शाहबीचको विवादका समाचार बाक्लै आइरहेका छन् ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले उनीमाथि कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार बिहानै तनहुँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर शाह विरुद्ध जाहेरी दिएकी हुन् । ती गायिका अहिले बल्ल १७ वर्ष पुगेकी छिन् ।

हालै मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।
गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । जाहेरी दर्ता भइसकेकाले अब पल शाहलाई पक्राउको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्