खाडी मुलुकबाट फर्किएका घरेलु महिला श्रमिकले पुन: श्रमस्वीकृत पाउने
काठमाडौं, फागुन १० । सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा अलपत्र परेका नेपाली महिलालाई स्वदेश आएर पुन: फर्कन पाउने व्यवस्था गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन्।
खाडीलगायत देशमा महिला कामदार पठाउन प्रतिबन्ध लगाएपछि महिला अनौपचारिक मार्ग प्रयोग गर्दै विदेशिने गरेका छन् । जसले गर्दा उनीहरू जबरजस्ती श्रम र बेचबिखन जस्ता जोखिममा पर्ने गरेका छन् । प्रतिबन्धका कारण महिलाहरू सुरक्षित हुने भन्दा थप जोखिममा परेको मन्त्री श्रेष्ठले बताए। ‘ पहिलेकै रोजगारदातासँग सम्झौता नविकरण गरी विदामा स्वदेश आइ फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नविकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पूरा गरेर पुन: श्रम स्वीकृति दिइनेछ, ‘ मन्त्री श्रेष्ठले भने, ‘ सम्बन्धित देशको नियोग र वैदेशिक रोजगार कार्यालयले उनीहरुको छुट्टै अभिलेख राख्ने व्यवस्था गर्नेछ।’
सरकारले घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएका कारण अवैध बाटोबाट जाने कामदार झनै जोखिममा परेका छन् । मन्त्री श्रेष्ठडले यसको समाधानका लागि पनि सरोकारवालाहरुसँग फलफल गरी छिट्टै निर्णयमा पुगिने बताए। खाडीलगायत मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएको छ। वर्षौँदेखि ती देशमा लुकिछिपी काम गरिरहेका महिलाले रोजगारी गुम्ने डरका कारण विदामा घर आउन पाएका छैनन्। वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ को दफा २३ बमोजिम बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरी मन्त्री श्रेष्ठले अप्ठयारोमा परेका महिलालाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन्।
वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका अनुसार बनेको समन्वय समिति र मन्त्रालयले गठन गरेको अध्ययन समितिले पनि प्रतिबन्ध लाग्नुभन्दा पहिल्यैदेखि नै ती मुलुकमा घरेलु कामदारका रूपमा काम गरिरहेका र पछि अवैधरुपमा गएका महिलाहरू परिवार भेट्न नेपाल आउन नसकेको भन्दै उनीहरुको पक्षमा निर्णय गर्न सिफारिस गरेको थियो ।
प्रतिबन्ध नलाग्दै खाडी पुगेका तथा पछि अवैध बाटोबाट गएका घरेलु कामदारहरू रोजगारदाताको व्यवहार र कमाइ राम्रो भए पनि नेपाल फर्केपछि श्रम स्वीकृति नपाउने भएकाले फर्किन सकेका थिएनन् । अवैध रूपमा गएका महिलाको कुनै अभिलेख भने छैन। कयौं महिला शोषण, बेचबिखन तथा ठूलो सङ्ख्यामा श्रम गन्तव्य मुलुकमा अलपत्र परेका छन् । २० चैत २०७३ मा व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी र अन्य मुलुकमा घरेलु कामदार पठाउन पूर्णरूपमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्