एमसीसी संसदमा पुगेपछि प्रचण्डको प्रतिक्रिया: हामीले विरोध गरेकै हो, अझै विपक्षमा छौँ
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव पेश भएपछि आफ्नो बचाउ गरेका छन्।
उनले सामाजिक सञ्जालमा स्पष्टीकरण लेख्दै एमसीसी संसदमा लैजानुअघि नै माओवादी केन्द्रले विपक्षमा उभिने निर्णय गरिसकेको जिकिर गरेका छन्।
दाहालले एमसीसी संसदमा टेबुल गर्नु हुन्न भनेर सडकमा उत्रिएकाहरुमाथि प्रहरी दमन भएको भन्दै आपत्ति प्रकट गरेका छन्।
‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ’, उनले भनेका छन्, ‘हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।’
उनले प्रदर्शनमा घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्। ‘एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, दाहालले भनेका छन्।
यसअघि विरोधमा रहेको माओवादी केन्द्र आइतवार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा एमसीसी संसदमा लैजान तयार भएको थियो।
संसदमा पनि माओवादी केन्द्रका सांसदहरु कृष्णबहादुर महरा र बिना मगरहरु विरोधमा उत्रिएका थिए। तर अध्यक्ष प्रचण्ड आफैं भने आसनमै रहेर मौन बसेका थिए।
संसद बैठकमा माओवादी प्रमुख सचेतक देव गुरुङले संशोधनबिना एमसीसी अघि बढाउन नसकिने भन्दै आफूहरुको मत विपक्षमै रहेको प्रष्टीकरण दिएका थिए।
प्रतिक्रिया दिनुहोस्