संसद्‌मा एमसीसी पेस गरेपछि खनालले भने -अमेरिकाको दबाबले सिंगो नेपाल विभाजित भयो

काठमाडौं, फागुन ८ ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधान विपरीत जबरजस्ती रुपमा संसदमा एमसीसी टेबल गरिएको आरोप लगाएका छन्। सरकारले आइतबार संसद्‌मा एमसीसी पेस गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेता खनालले एमसीसी सम्झौता संसदमा ल्याइनुले मुलुक नै ‘ट्रयापमा परेको’ बताए।

‘एमसीसी सम्झौता संसदमा जबरजस्ती ढंगले ल्याइएको छ। यसलाई संसदमा ल्याउनुले नेपाल फसेको छ। भोलिका दिनमा अझ समस्या थपिने निश्चित छ,’ खनालले भने। आर्थिक करार सम्झौता संसदमा ल्याउने संवैधानिक प्रावधान नभएको खनालको दाबी थियो।

उनले अमेरिकाको दबाबले सिंगो नेपाल विभाजित भएको दाबी गरे। एउटा आर्थिक सम्झौताको विषयलाई लिएर देश र संसद् नै विभाजित भएको उनको भनाइ थियो। नेता खनालले आफ्नो पार्टीमा एमसीसी सम्झौता संसद्‌मा टेबल गर्न दिने विषयमा निर्णय नभएको बताए।

उनले सरकारमा बस्ने/नबस्ने सम्बन्धमा पार्टीको बैठकले निर्णय गर्ने बताए। उनले अमेरिकी दबावका कारण मुलुकमा ध्रुवीकरण बढेको भन्दै नेकपा एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिनै नसक्ने बताए। ‘हाम्रो पार्टीको स्थायी कमिटी बैठकले यथास्थितिमा एमसीसी पारित हुन नदिने निर्णय गरेको छ,’ खनालले भने।

प्रतिक्रिया दिनुहोस्