सत्ता गठबन्धन अमेरिकासामु लम्पसार पर्यो : भीम रावल
काठमाडौं, फागुन ८ । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि संसदमा पेश गर्न लागेकोमा विरोध गरेका छन्। संसदको आइतबार बसेको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहँदा रावलले भने समय लिएर बोलेका थिए .
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमालेका सांसदहरूले नाराबाजी सुरु गरे पनि रावललाई आफ्नो धारणा राख्न सभामुख सापकोटाले ५ मिनेटको समय छुट्याएका थिए। एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा दिँदै नेता रावलले प्रश्न गरे‚ ‘यो सार्वभौम संसद्ले यस्तो राष्ट्रघाती सम्झौताको पक्षमा बोल्छ कि देशको पक्षमा बोल्छ ?’
एमसीसी सम्झौता स्वतन्त्र परराष्ट्र नीति र नेपाली जनताको स्वाधीनताविरुद्ध भएको उनले बताए। विपक्षी पार्टीले संसद्मा अवरोध गरिरहेको बेला संसद्ले उक्त सम्झौता टेबल गर्न नहुने उनको भनाई छ। रावलले भने‚ ‘विपक्षी पार्टीले विरोध गरिरहेका बेला टेबल कसरी हुन सक्छ ? यो विषय नेपालको स्वाधीनता‚ स्वाभिमान र आत्मनिर्णयसँग सम्बन्धित भएकाले यसमा राष्ट्रिय सहमति र नेपाली जनताको भावनाविपरीत टेबल गरिने कुरा आपत्तिजनक छ।’
रावलले सरकारमा रहेका दलहरूले अमेरिकासामु लम्पसार परेर संसदमा एमसीसी टेबुल गरिएको आरोप पनि लगाए। दलहरुबीच राष्ट्रिय सहमति नभई एमसीसी संसदमा टेबुल गर्नु सार्वभौम जनता र सार्वभौम संसदको अपमान भएको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस्