६ महिनामा विद्युत् प्राधिकरणको नाफा १२ अर्ब, वार्षिक नाफा १५ अर्ब नाघ्ने प्रक्षेपण

काठमाडौं, फागुन ८ ।  नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत)अनुसार गत आव २०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो ।

चालु आवको पहिलो ६ महिनामा नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । आव २०७२/७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी, विद्युत् बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण चालु आवको ६ महिनामा संस्था उल्लेख्य नाफा आर्जन गर्न सफल भएको बताए । उनले सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम, ४५६ मेगावाटको माथिल्लो तामाकोसीसँगको विद्युत् खरिददर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको कारण भएको बताए ।

“पुसबाट लागु हुने गरी उपभोक्ता महसुल समायोजन भएको छ, यसबाट चालु आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्न सक्छ । तर, चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौँ,” उनले बताए ।

प्राधिकरणले चालु आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृनिकायहरूको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोड छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ ।

प्राधिकरणको पुँजीकृत सम्पत्ति एक खर्ब ६५ अर्ब, पुँजीकृत हुन बाँकी सम्पत्ति एक खर्ब ५२ अर्ब, सहायक कम्पनीहरूमा लगानी ३५ अर्ब ३४ करोड र ऋण लगानी ३२ अर्ब ५० करोड छ । तरल पुँजी ८५ अर्ब एक करोड छ ।

विद्युत् निर्यात बढ्यो, आयात घट्यो

आघिल्लो वर्षहरूको तुलनामा चालु आवको ६ महिनामा नेपालमा खपत भएर बढी रहेको विद्युत् भारतर्फ निर्यात बढेको र अपुग विद्युत्को आयातको परिमाण घटेको प्राधिकरणले जनाएको छ । गत आवमा ३१ करोड ६० लाख रुपैयाँको विद्युत् भारत निर्यात भएकोमा चालु आवको ६ महिनामा ८० करोड ५० लाख रुपैयाँको विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ । ऊर्जाका आधारमा गत आवमा चार करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महिनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ ।

आव २०७६/७७ मा १३ अर्ब ४२ करोड रुपैयाँको विद्युत् आयात भएकोमा गत आवमा बढेर २१ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो । तर, चालु आवको ६ महिनामा दुई अर्ब ५८ करोड रुपैयाँको मात्र विद्युत् आयात भएको छ । माघ, फागुनमा आयात केही बढ्ने भएता पनि यस वर्ष १० अर्ब रुपैयाँभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए । यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब २०० मेगावाट विद्युत् माग बढेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित करिब ६६० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ ।

विद्युत् चुहावट १४.४५ प्रतिशत

चालु आवको ६ महिनामा विद्युत् चुहावट १४.४५ प्रतिशतमा झरेको छ । नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको ६ महिनामा २.७३ प्रतिशत विन्दुले घटाएर १४.४५ प्रतिशतमा सीमित गर्न सफल भएको जनाएको छ ।

विद्युत् प्रसारण र वितरणतर्फसहित चालु आवको ६ महिनामा चुहावट १४.४५ प्रतिशतमा झरेको हो । प्रणाालीमा हुने चुहावमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ । यस अवधिमा वितरणतर्फको चुहावट ९.२३ प्रतिशत छ । प्राधिकरणले चालु आवमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्