एमसीसीको विरोधमा आज पनि नयाँ बानेश्वरमा प्रदर्शन, यातायात अस्तव्यस्त

काठमाडौं, फागुन ८ ।  सत्ता साझेदार दलकै नेता-कार्यकर्ताहरूले आइतबार नयाँ बानेश्वरको सडक खण्ड अवरुद्ध बनाएका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरोध गर्दै उनीहरूले सडक अवरुद्ध पारेका हुन् ।

विरोध गर्नेमा नेकपा (माओवादी केन्द्र) का नेता-कार्यकर्ता अगाडि देखिएका छन् । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबीच भने आज संसद्मा एमसीसी टेबल गर्ने सहमति भएको छ । अहिले नयाँ बानेश्वर क्षेत्रमा सवारीसाधन सञ्चालनमा आउन सकेको छैन ।

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एमसीसीको विरोधमा प्रदर्शन भएपछि यातायात आवागमन अस्तव्यस्त भएको छ । तीनकुने-माइतीघर सडकखण्डमा सवारी साधन सन्चालनमा रोक लगाइएपछि यातायात आवागमन अस्तव्यस्त भएको हो । काठमाडौंको नयाँ बानेश्वरमा सडकमै मानिसहरु भेला भएर प्रदर्शन जारी राखेकाले सवारी साधनलाई बिभिन्न स्थानबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नयाँबानेश्वरतर्फ जाने-आउने सवारी साधनलाई गैरीगाउँ, तिनकुने, पुरानो बानेश्वर, माइतिघर, न्युप्लाजा, भद्रकालीबाट ड्राइभर्सन गरिएको छ । नयाँ बानेश्वर भएर यात्रा गर्ने सम्पूणर् सवारी चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

महाशाखाले सवारी साधनका चालकहरुलाई करिडोर र चक्रपथको सडक प्रयोग गर्न सुझाएको छ । डाइभर्सनका कारण उपत्यकाको माइतीघर, सिंहदरबार, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर र कोटेश्वर चोकमा सवारी साधन क्यूमा चलिरहेका छन् । क्यू रहेको स्थानमा सवारी आवागमन सहज बनाउने प्रयास भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्