आज पनि एमसीसीविरुद्ध प्रदर्शन , बानेश्वर क्षेत्र फेरि तनावग्रस्त

काठमाडौं, फागुन ६ । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा आज पनि प्रदर्शन जारी छ । शुक्रबार बिहानैदेखि नयाँबानेश्वर क्षेत्रमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु एमसीसीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।सडकमा टायर समेत बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले एमसीसीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)लगायत दल र मोर्चाले संयुक्त रूपमा प्रदर्शन गरिरहेका हुन् ।

उनीहरुले नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन्। ‘एमसीसी चाहिदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाउँदै विरोध प्रदर्शनमा उत्रिएका छन्।

प्रदर्शनमा अप्रिय घटना हुन नदिन बानेश्वरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। यसअघि बुधबार एमसीसीविरुद्ध प्रदर्शन हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो।

प्रदर्शनले   काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ । विभिन्न दलहरूले एमसीसीविरुद्ध प्रदर्शन गर्दा यातायात अस्तव्यस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले सडक प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको बताए ।

‘‘बानेश्वर क्षेत्रमा यातायात अस्तव्यस्त बनेको छ । व्यवस्थापन गरिरहेका छौँ,” उनले भने, ‘‘माइतीघर–नयाँ बानेश्वर, नयाँ बानेश्वर–कोटेश्वर, गौशाला क्षेत्रमा यातायात प्रभावित छ ।”

 

प्रतिक्रिया दिनुहोस्