प्रतिनिधिसभामा आज पनि एमालेको अवरोध कायमै, एमसीसी पेश भएन
काठमाडौं, फागुन ६ । प्रतिनिधिसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ। केही बेरअघि सुरु भएको संसद बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध र नाराबाजी जारी राखेको छ।
शुक्रबार बिहान बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा अमेरिकी सहायता परियोजनामा सहमति जुट्न सकेन। त्यहीकारण आजको संसद बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अघि नबढेको हो।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्। उनीहरुले गैर सांसदहरुलाई निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदमा भेदभावपूर्ण व्यवहार बन्द गर जस्ता नारा लगाएका छन्।
प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो बस्ने बैठकअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमसीसी आएको थिएन। यो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/७८ पेश गर्ने कार्यसूची संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेका छन्।
बैठकको कार्यसूचीबारे छलफल गर्न सभामुख सापकोटाको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवनस्थित शंकर हलमा बसेको थियो। बैठकमा एमाले सहभागी भएको थिएन।
प्रतिक्रिया दिनुहोस्