एमसीसी विवादले सत्ता गठबन्धन धरापमा, एमसीसी पारित गर्न कांग्रेस र एमाले सहमति नजिक !
काठमाडौँ , फागुन ६ । पाँच दलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। पत्नी आरजुलाई लिएर देउवा बालकोट पुगेका हुन्।
सत्ता गठबन्धनमा आबद्ध कम्युनिस्ट दलका नेताहरू एमसीसीलाई संसद्मा पेस गर्न राजी नभएपछि देउवा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीको साथ खोज्न बालकोट पुगेका हुन्।
गठबन्धनबाट बाहिर पनि निस्कन नचाहने र सरकारलाई सदनमा एमसीसी पेस गर्न पनि नदिने नीति सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले लिएपछि सरकारको नेतृत्व गरेको कांग्रेस र प्रधानमन्त्री देउवा रुष्ट छन्। कांग्रेसले प्रधानमन्त्रीलाई गठबन्धन टुटे पनि एमसीसी सदनमा पेस गर्न गर्न अधिकार दिइसकेको छ।
बालकोटमा देउवाले ओलीलाई संसद्मा जारी विरोध रोक्न आग्रह गर्दै एमसीसी पारितमा सघाउन आग्रह गरेका थिए। ‘संसद् खोल्नुस्, अवरोध नगर्नुस्, मिलेर एमसीसी पास गरौं भन्ने प्रधानमन्त्री देउवाको प्रस्ताव थियो’, ओलीनिकट स्रोतले भन्यो।
तर ओलीले यी विषयमा आफ्नो पार्टीको पूर्ववत् अडान कायमै रहेको बताएका थिए। ओलीले सभामुखले मार्गप्रशस्त गर्नुपर्ने वा एमालेले १४ जना सांसदलाई गरेको कारबाहीलाई सदर गर्नुपर्ने अडान दोहोर्याएका थिए। यता देउवाले बिहीबार नै एमसीसी पारित गर्न सघाउन बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागेका छन् ।
स्रोतका अनुसार ओलीले देउवासँग गठबन्धन तोड्न माग गरेका छन् । गठबन्धन तोडेमा एमसीसी पारित गर्ने र सरकारलाई पनि सहयोग गर्ने ओलीको बचन छ । तर दुवै प्रकरणमा पहिला देउवाले निर्णय लिनुपर्ने प्रस्ताव पनि ओलीले अघि सारेका छन् ।
शुक्रबार पनि प्रचण्ड र माधव नेपाललाई मनाउने प्रयास सफल नभए एमालेलाई सरकारमा ल्याएर एमसीसी पारित गर्ने देउवाको तयारी छ । एमसीसी संशोधन नगरेर पारित गरे सरकार छाड्ने चेतावनी प्रचण्ड र माधव नेपालले यसअघि नै दिइसकेका छन् ।
एमसीसीकै कारण प्रतिनिधिसभाका पछिल्ला ६ वटा बैठक निरन्तर प्रभावित छन् ।
प्रतिक्रिया दिनुहोस्