धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त , को हुन् हमाल?
काठमाडौं, फागुन ५ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन्।आज बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।
यसअघि बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित योजना आयोगका उपाध्यक्ष विश्व नाथ पौडेलको संयोजकत्वमा रहेको सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको थियो।
समितिले छनौट गरेका तीन जनालाई अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदमा सिफारिस गरेका थिए। सिफारिस गरिएको ३ जनामध्ये मन्त्रिपरिषद्ले बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गरेको हो। अध्यक्षका लागि १५ जनाको आवेदन परेका थियो।
को हुन् हमाल?
धनगढी स्थायी घर भएका हमाल कांग्रेस निकटका व्यक्ति हुन्। धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले नै ल्याउन चाहेका थिए।
त्यसो त आवेदकमध्येका एक रहेका हमाल बोर्डको अध्यक्षका लागि आफू योग्य रहेको दाबी गर्दै आएका थिए।
‘म आफैँ पनि धितोपत्र बोर्डको लागि योग्य व्यक्ति हो। म सुरुमा इन्जिनियर हो। त्यो पेशा छोडेर मैले एमबीए गरेँ’, हमालले भनेका थिए।
त्यसपछि धेरै कम्पनीहरुको विभिन्न जिम्मेवारीमा काम गरेको उनले बताएका थिए।
‘मैले यूनएनमा समेत काम गरेको छु। र, हाल नेपालमा लगानी गरिरहेको छु’, हमालको भनाइ थियो, ‘होटललगायतका क्षेत्रमा अहिले लगानी गरेको छु। इन्टरनेशनल वित्तीय क्षेत्रमा मेरो योग्यता छ।’
प्रतिक्रिया दिनुहोस्