गठबन्धन बैठकअघि प्रचण्डको दौडधुप : सिंहदरबारमा माधव नेपालसँग भेटवार्ता

काठमाडौं , फागुन ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

यसअघि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका थिए । देउवा र प्रचण्डको भेटपछि गठबन्धनको बैठकको समय २ घण्टा पछि सारिएको थियो ।

सत्तागठबन्धनको बैठक ५ बजे बस्दै छ । सत्ता सहकार्य र एमसीसीको भविष्यबारे गठबन्धनको बैठकलाई ‘निर्णायक’ भनिएको वेला प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

दुई नेताबीच गठबन्धन बैठकमा समान धारणाका साथ प्रस्तुत हुने विषयमा छलफल गर्न भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लगिछाड्ने अडानमा रहेपछि पाँच दलीय सत्ता गठबन्धनमा ठूलो मतभेद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्