एमसीसी सम्झौता नेपालको स्वाधीनता र स्वाभिमान विरोधी छ, पास गर्न हुँदैन : नेता रावल
काठमाडौं, फागुन ४ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता डा. भीम रावलले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले संसदबाट पास गर्न नहुने बताएका छन् ।
आज बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै सांसद रावलले यस्तो बताएका हुन् । उनले एमसीसी सम्झौताको धारा ५ का उपधाराहरूमा अमेरिकाको वर्तमान कानुन र भविष्यको कानुन मान्नुपर्ने लेखेको उल्लेख गरिनुका साथै एमसीसीलाई सन्तुष्ट हुने गरी भारतको सहमति लिएर योजना छान्नुपर्ने कुरा रहेकाले एमसीसी राष्ट्रघाती हुनुका साथै नेपालको स्वाधीनता र स्वाभिमान विरोधी भएको उल्लेख गरे ।सांसद रावलले एमसीए नेपालले विभिन्न मन्त्रालयहरूसँग सम्झौता गर्न उचित नहुने पनि बताए ।
उनले-भने , ‘म स्पष्ट शब्दमा भनिरहेको छु । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँग भएका मूल सम्झौता, कार्यान्वयन सम्झौता, त्यसपछि गरेका झन्डै एक दर्जन सम्झौतका थुप्रै प्रावधानहरू राष्ट्रघाती छन् । त्यसले हाम्रो देशको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान, आत्मनिर्णयको अधिकारलाई कुण्ठित गर्छ । संविधानअनुसार हामी निर्वाचित व्यक्तिहरूले कसैको डर नमानी आफ्नो देशको हितमा उभिनेछौँ भन्ने शपथ खाएका छौँ । कुनै पनि पार्टीको नेता, संसदको सदस्यले शपथको विरुद्धमा गएर एमसीसीका राष्ट्रघाती सम्झौताका कतिपय प्रावधानहरूलाई मान्न हुँदैन । एमसीए नेपाल भनेको अर्थ मन्त्रालय अन्तर्गतको विकास समिति अन्तर्गतको सानो कार्यालय भनेको छ । त्यो कार्यालयले मन्त्रालयलाई नियन्त्रण गर्ने सम्झौता गराउने कुन कानुन हो ? दफा ५ र ६ मा अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थभन्दा विपरीत कुनै पनि काम गर्न नपाइने कुरा छ भने अर्को कुरा यो कम्प्याक्ट र यस सम्झौतासँग नमिल्ने गरी कसैसँग पनि कुनै काम गर्न नपाइने छ । यो कुरा कुनै देशसँग नभइ हाम्रो देशको परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानँग सम्बन्धित छ ।’
प्रतिक्रिया दिनुहोस्