एमसीसीमा सहमति जुटाएर फागुन ६ गते टेबुल गर्छौं : कानुनमन्त्री बडु

काठमाडौं , फागुन ४ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले दलहरुबीच सहमति जुटाएर अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडुले यस्तो बताएका हुन् । उनले एमसीसी टेबुल गर्ने विषयमा दलहरुबीच थप छलफल आवश्यक परेकाले सहमति जुटाएर फागुन ६ गते पेश गर्ने बताए ।

‘छलफलका निमित्त दलहरुका बीचमा केही समय चाहिन्छ भनेपछि दुई दिनमा थप सल्लाह र सहमति जुटाएर फागुन ६ गतेमा पेश गर्ने तयारी छ’ उनले भने ।

आजसम्म नजुटेको सहमति अब दुई दिनमा जुट्छ भन्ने के ग्यारेन्टी छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री बडुले भने, ‘हुनसक्छ । कहिलेकाहीँ एकै रातमा सहमति हुन्छ ।’

उनले अघि भने, ‘६ गते टेबुल गर्ने सहमति बनाउँदैछौं । त्यसका निम्ति आज र भोलिको दिनको प्रतीक्षा गरौं ।’

बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच नै सहमति नजुटेपछि पेश नभएको हो । यता प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।अर्को वैठकमा एमसीसी टेवल हुने सम्भावना रहेको छ ।

यसैबीच एमसीसी सम्झौताविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन भएको छ ।विभिन्न दलका भ्रातृ संगठनले संयुक्तरुपमा बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन्।

उनीहरुले राष्ट्रघाति एमसीसी चाहिदैन भनेर नारा लगाएका थिए
। त्यसैगरि कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने निर्णय गरिसकेको छ। गठबन्धनका अन्यदल यथास्थितिमा एमसीसी पास गर्न नहुने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्