एमसीसी सम्झौताविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप
काठमाडौं, फागुन ४ । एमसीसी सम्झौताविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । काठमाडौंस्थित नयाँ बानेश्वरमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको छ ।
विभिन्न दलका भ्रातृ संगठनले संयुक्तरुपमा बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले पानीको फोहोरा हानेको छ।प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडेर बबरमहल सडकतर्फ विरोध प्रदर्शनलाई अघि बढाएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । एमसीसीको विरोधमा उत्रिएकाहरूले उत्तेजक नाराबाजी गर्दै अघि बढेपछि प्रहरीलाई नियन्त्रण गर्न मुस्किल परेको थियो ।उनीहरुले राष्ट्रघाति एमसीसी चाहिदैन भनेर नारा लगाइरहेका छन्। प्रहरी र प्रदर्शनकारीबीच मुठभेडको अवस्था सिर्जना भएको छ।
एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा झन् दरार उत्पन्न भएको छ। कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने निर्णय गरिसकेको छ। गठबन्धनका अन्यदल यथास्थितिमा एमसीसी पास गर्न नहुने बताउँदै आएका छन्।
यता अमेरिकी सहायता निकाय मिलेनिअम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०को समर्थनमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको छ। स्वतन्त्र नागरिक समाजले बुधबार अनामनगरमा मोटरसाइकलसहित एमसीसीको समर्थनमा प्रदर्शन गरेका हुन्। ‘वेल कम एमसीसी’लेखिएको ब्यानरसहित मोटरसाइकल र्याली निकालेर एमसीसीको पक्षमा प्रदर्शन गरेको हो।
प्रतिक्रिया दिनुहोस्