एमसीसीको बिरोधमा आज नेपाल बन्द : काठमाडौं उपत्यकाबाट २३ जना पक्राउ

काठमाडौँ , फागुन ४ ।  एमसीसी सम्झौताको बिरोधमा ६ राजनीतिक दलले आज (बुधबार) का लागि आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौं उपत्यकाबाट बिहानै २३ जना पक्राउ परेका छन् ।

सरकारले अमेरिकासँगको एमसीसी सम्झौता संसदमा टेबुल गर्ने तयारी अघि बढाएपछि विप्लव नेतृत्वको नेकपासहितका ६ दलले आज त्यो सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आह्वान गरेका छन् ।

काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसीसीको बिरोधमा बन्द गराउन निस्केका दुई महिलासहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए । पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत छन् ।

ट्याक्सी जलाउन खोज्ने अरु दुई जना भागेका मैनालीले बताए । विप्लव नेतृत्वको नेकपा, मोहन वैध नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र समाजवादी सहितका दलले बन्द आयोजना गरेका हुन् ।

आजको बन्दलाई सफल पार्न भन्दै आन्दोलनरत ६ दलले मंगलबार साँझ मशाल जुलुस प्रदर्शन गरेका थिए । गृह मन्त्रालयले भने नेपाल बन्दलाई निस्तेज पार्न मातहत निकायलाई निर्देशन दिएको छ । मंगलबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी गृहले नेपाल बन्दमा कानुन विपरितका गतिविधि हुन नदिन र शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्