अडियो प्रकरणपछि प्रेम आले अप्ठ्यारोमा ! चौतर्फी आलोचना
काठमाडौं , फागुन ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने (अपहरण) गर्ने धम्की दिदै अपशब्द प्रयोग गरेको अडियो बाहिरिएपछि उनको चौतर्फी आलोचना भएको छ ।
सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आक्रोशित रहेका मन्त्री आलेले टेलिफोनमार्फत एक युवालाई ‘अपहरण’सम्मको धम्की दिएपछि चौतर्फी आलोचना भएको हो । मन्त्री आलेले धम्की दिँदै गरेको फोन वार्ता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको आलोचना भएको छ ।
एमाले नेता भीम रावलले ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ । हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ?’
पछिल्लो समय एक्सन मन्त्रीको रुपमा चर्चामा रहेका आले यस विवादले समस्या परेको टिप्पणी हुन थालेको छ । उनको सचिवालयले भने पुरानो कुराकनीलाई अहिले सार्बजनिक गरेर विवादमा पार्ने प्रयास गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।
तर मन्त्री आलेले धम्काएका व्यक्ति चिनजानका नै भएको र उनी मन्त्री हुदा नै यो कुराकानी भएको अडियोबाट बुझ्न सकिन्छ । त्यस्तै राजनीतिक आस्था फरक रहेको पनि कुराकानीबाट बुझिन्छ । अडियो सार्बजनिक गर्ने व्यक्ति यस अघि आलेका समर्थक रहेको र अहिले पार्टी फरक परेपछि उनको आलोचना गर्ने गरेको उनका सामाजिक संजालका पोष्टहरुबाट बुझ्न सकिन्छ । यद्यपी जे जस्तो पृष्ठ भूमि भएपनि मन्त्री जस्तो व्यक्तिले प्रयोग गरेको भाषा र तरिका आपत्तिजनक रहेको भन्दै उनको आलोचना भएको छ ।
प्रतिक्रिया दिनुहोस्