स्थानीय निर्वाचनका लागि दुई लाख युवा मतदाता थपिने, १ करोड ७९ लाख मतदाता कायम

काठमाडौं, फागुन १ ।  निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा करिब १ करोड ७९ लाख मतदाता कायम हुने बताएको छ। निर्वाचन आयोगले आजदेखि सुरु गरेको नियमित ब्रिफिङमा यस्तो बताएको हो।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले भने, ‘नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई आधार मान्ने गरिएकोमा यसपटक आसन्न स्थानीय सदस्यको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने मिति २०७९ साल वैशाख २९ गते अर्थात् निर्वाचन हुने दिनभन्दा ठीक अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट मिति ‘कट अफ डेट’ निर्धारण गरिएको छ।

नेपालको निर्वाचन इतिहासमा पहिलोपटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी १८ वर्ष पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा मतदाता नामावलीमा नाम समावेश भएका थप करिब २ लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चितता भएको छ। २०७९ साल वैशाख २९ गते १८ वर्ष पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा करिब १ करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ।’

आयोगले निर्वाचन कार्यतालिका स्वीकृत भएको जनाएको छ। आयोगले मतदाता नामावली अद्यावधिकको काममा जुटेको बताएको छ। आयोगका प्रवक्ता शर्मा पौडेलले अन्तिम मतदाता नामावलीको नाम अद्यावधिक गर्ने कार्य भइरहेको बताए। ‘आसन्न निर्वाचनका लागि सघन तयारीमा जुटिसकेका छौं। निर्वाचन कार्यतालिका स्वीकृत भइसकेको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्