बारले गर्‍यो प्रधान न्यायाधीश राणाविरुद्ध महाभियोगको स्वागत

फागुन १ ।  नेपाल बार एसोसियसनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई स्वागत गरेको छ ।

प्रधानन्यायधिशको राजीनामा माग गर्दै आइतबार गरिएको आन्दोलनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीशको वहिर्गमनका लागि दर्ता भएको महाभियोग प्रस्तावको स्वागत गर्दै सफल हुने दावी गरे ।

उनले प्रधान न्यायधिश मात्रै नभई अन्य न्यायधिशलाई पनि बिचौलियाको काम रोक्दै आफूमा सुधार गर्न सुझाव दिए । न्यायपालीका सुधार भए अन्य विषयलाई सुधार गर्न सकिने उनको भनाइ छ । श्रेष्ठले बारको आन्दोलन व्यक्तिको फाइदाको लागि नभएर समग्र न्यायपालीकाको सुधारका लािग भएको भन्दै प्रधान न्यायधिशको वहिर्गमन नभएसम्म आन्दोलन जारी रहने बताए ।

त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले महाभियोग प्रस्ताव दर्ता भएसंगै प्रधान न्यायधिशलाई सर्वोच्चमा बस्ने अनुमति नभएको र निलम्बित प्रधान न्यायधिश भएको बताए । उनले अर्को प्रधान न्यायधिशको सपथ नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।

त्यसअघि आइतबार सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको थियो । बारले आइतबारदेखि पुन भौतिक उपस्थितिमा आन्दोलनका कार्यक्रमलाई अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्