प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने ,दुईतिहाईभन्दा बढीकाे समर्थन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिनेभएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको २५ दिनपछि ओलीले आज अपराह्न ३ बजे बस्ने संसद्को बैठकबाट विश्वासका मत लिन लागेका हुन् । उनी फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्छ ।

प्रतिनिधिसभामा २ सय ७५ सांसदमध्ये एमाले र माओवादी केन्द्रसँग मात्रै १७४ सांसद छन् ।

त्यसैगरी राष्ट्रिय जनता पार्टीका १७, संघीय समाजवादी फोरमका १६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसदले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भएका छन् ।

यी सबै जोड्दा सरकारको पक्षमा २ सय ८ मत पुग्छ । त्यसैगरी राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टीबाट चुनाव जितेका एक÷एक सांसद छन् भने स्वतन्त्रबाट एक जना निर्वाचित भएका छन् ।

यीमध्ये वाम गठबन्धनसँग मिलेर चुनाव लगेको जनमोर्चाले सरकारकै पक्षमा मतदान गर्ने सम्भावना छ भने स्वतन्त्र सांसदले पनि सरकारलाई नै समर्थन गर्ने सम्भावना छ ।

योसँगै प्रधानमन्त्री ओली नेतृत्वको वाम गठबन्धन सरकारले तीन चौथाई भन्दा बढीको समर्थन प्राप्त गर्ने भएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका जम्मा ६३ जना मात्र सांसद छन् । एक चौथाई मत पु¥याउन कम्तिमा ६९ मत आवश्यक पर्छ ।

प्रतिपक्षमा एक चौथाईभन्दा कम मत भएमा महाभियोग, अविश्वासको प्रस्तावलगायतका विशेष प्रस्ताव लैजान सक्दैन । यसले ओली नेतृत्वको सरकार निकै शक्तिशाली हुने छ ।

प्रतिक्रिया दिनुहोस्