एमसीसीलाई संसदीय प्रक्रियाबाट निकास दिनुपर्छ : शेखर कोइराला
काठमाडौं, माघ २८ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदीय प्रक्रियाबाट निकास दिनुपर्ने बताएका छन् ।
शुत्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले एमसीसीसँग कुटनीतिक कौशलता र नेतृत्व क्षमता जोडिने संसदीय प्रक्रियाबाट निकास दिनुपर्ने बताएका हुन् ।
एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सीमित नरहेको भन्दै उहाँले यसमा गम्भीर बनेर सम्भव भए राजनीति दलहरूबीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रक्रियाबाट अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने , ‘एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रकृयामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसदको क्षमतामाथि नै गम्भीर प्रश्नहरू तेर्सिने देख्दैछु ।’
फरक प्रसङ्गमा नेता कोइरालाले राजनीतिक आदर्श विपरीत अप्राकृतिक गठबन्धन गर्न नहुनेतर्फ जोड दिँदै पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरूको न्यायोचित व्यबस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्ने दाबी गरे ।
नेता कोइरालालेले स्थानीय तहको जितको बलमा प्रदेश र संघीय निर्वाचनमा समेत कांग्रेसले एक्लै बहुमत प्राप्त गर्न सक्ने जिकिर गरे ।
यस्तै, उनले पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका महाधिवेशन प्रक्रिया तत्काल अघि बढाउन प्रस्ताव पनि गरेका छन् स्थानीयतहको निर्वाचनलाई मध्यनजर गर्दै फागुन १० गते भित्र विधानसम्मत ढंगले बाँकी रहेका जिल्लाका अधिवेशन गर्न पनि उनको जोड छ ।
त्यसैगरी उहाँले नयाँ क्रियाशील सदस्यता वितरण तत्काल सुरु गर्दै विवाद भएर थाँती रहेका पुराना क्रियाशील सदस्यताको विधानअनुसार टुंगो लगाउनुपर्ने बताए ।















प्रतिक्रिया दिनुहोस्