तीनवटै चुनावमा बहुमत ल्याउँछौं : ओली भन्छन्- अबका निर्वाचन बत्ती निभाएर मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ

काठमाडौं, माघ २८ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र संघका तीनवटै चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । स्थानीय तहको चुनावको सन्दर्भमा एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अहिलेको सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गरे ।

‘आउँदो निर्वाचनमा हामी बहुमतले जित्छौं अरु के गर्लान् विचरा ! भाग्ने उम्कने ठाउँ छ भने खोजे हुन्छ । संघीय र प्रदेशमा पनि हामी आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौं । गठबन्धनसँगै लडेर बहुमत प्राप्त गर्नेछौं,’ उनले भने ।

उनले अब मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि आग्रह गरे । ‘अबका निर्वाचन बत्ती निभाएर मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ,’ ओलीले भने । उनले पार्टी विभाजनको असर कम नै रहेको दाबी गरे । ‘षड्यन्त्र रुपमा पार्टी विभाजन गर्दा पनि स्थानीय निकायमा पार्टीको वर्चश्व छ । विभाजनको असर दुई डिजिटभन्दा कम नै विभाजन भयो,’ उनले भने ।

गत चुनावमा पनि गठबन्धनसँग एक्लै लडेर ४१ प्रतिशत स्थानमा विजय हासिल गरेको उल्लेख गर्दै ओलीले अब पनि त्यो स्थान कायम हुने दाबी गरे ।  साथै ओलीले संसद भेन्टिलेटरमा पुगेको बताएका छन् ।
उनले भने, ‘हामी संसदमा सहभागी हुन चाहन्छौं । तर, सरकारले हामीलाई त्यो अवसर दिइराखेको छैन । हाम्रो पार्टीविरुद्ध सभामुख पार्टी फोड्न सक्रिय रहन्छन् । सभामुख प्रतिपक्षविरुद्ध लड्छन् । सभामुखले पदीय मर्यादा ख्याल राखेनन् । संसदको बहुमूल्य समय खेर गयो । भेन्टिलेटरमा पुगेको अवस्थामा छ संसद ।’

संसद निकम्मा ढंगले अलोकतान्त्रिक पेलाइका साथ निरर्थक हिसाबले अवरुद्ध भएको उनको भनाइ छ । ‘हामीले निस्कासन गरेका मान्छेहरुलाई कायम राखेर पार्टीलाई षड्यन्त्रपूर्वक फुटाइयो । पार्टी फुटाउने, सरकार गिराउने तत्वहरु, देशविरोधी तत्वसँग चुनावी तालमेल हुँदैन,ु ओलीले भने, ‘पार्टीमा त्यसता तत्वसँग तालमेल हुँदैन । सामान्यतया निर्वाचन एक्लै लड्छौं । नेकपा एमालेको विजय भए मात्रै देशमा सुशासन र समृद्ध आउँछ । चुनावमा एक्लै लड्छौं ।’

उनले थपे, ‘यो सरकार परमादेशबाट बनेको सरकार हो । गठबन्धनको सरकार बनेको ७ महिना पूरा भएको छ । यी ७ महिनामा नराम्रा कुरा बाहेक केही देख्न पाइएको छैन ।’

प्रतिक्रिया दिनुहोस्