कांग्रेस कार्यसम्पादन समिति बैठकः एमसीसी पास गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौँ , माघ २७ । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी पार्टी कार्यालय सानेपामा जारी बैठकमा गठबन्धन रहे पनि नरहेपनि एमसीसी पास गर्नुपर्ने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए ।

उनका अनुसार बैठकमा सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्र एमसीसीबारे भइरहेको छलफल जानकारी गराएर केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महतलाई एमसीसीको विषयमा बोल्न समय दिएका थिए ।

महतको व्याख्यापछि देउवाले एमसीसीका विषयमा राम्रा-नराम्रा विवरण आफूलाई दिन महतलाई आग्रह गरेका केन्द्रीय सदस्य कोइरालाले जानकारी गराएका छन् ।

उनका अनुसार अमेरिकाले अनुदान दिन लागेको भन्दै सभापति देउवाले यसमा धेरै विवादित र विभाजित हुनुपर्ने आवश्यक नभएको र नेपालको हितमा रहेको बताएका थिए ।

यता सत्तारुढ दलका दुई शीर्ष नेता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले तत्काल एमसीसी पास गर्न नसकिने बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार बालुवाटारमा भेटेर उनीहरुले एमसीसी पास गर्न नसकिने बताएका हुन्। उनीहरुले जनस्तरबाट उठेका सबालहरूको सम्बोधन नगरी यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्