राप्रपाको केन्द्रीय समिति बैठक फागुन ११ मा, पदाधिकारी बैठकले के के निर्णय गर्यो ?
काठमाडौं, माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारीको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा विहिबार सम्पन्न भएको छ । राप्रपाको पदाधिकारी बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते बुधबार काठमाडौंमा बस्ने निणर्य गरेको छ ।
त्यस्तै बैठकले स्थानीय चुनावमा केन्द्रित हुदै पार्टीको संगठन क्रियाशील बनाउने, सबै स्थानीय तहमा उम्मेदवार बनाउने लगायतका निर्णय गरेको छ ।
बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, पदाधिकारीहरु र प्रदेश कार्य समितिका अध्यक्षहरुको उपस्थिति थियो ।
बैठकले गरेका निणर्यहरु :
१. आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई अत्यधिक सफलता हासिल गर्न महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन विशेष कार्ययोजना बारे छलफल भएको छ । जसअनुसार,
क) पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने ।
ख) सबै स्थानीय तहमा उमेदवार खडा गर्ने ।
ग) पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजना बारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने ।
घ) फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने । पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने ।
ङ) जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनौट गर्ने ।
च) देशव्यापी पार्टी प्रवेश र कोणसभा सञ्चालन गर्ने ।
छ) पार्टीको सम्पूणर् शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने ।
२. बैठकले समान विचार भएकाहरुसंग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समिक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने, संवाद शुरु नभएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्यको लागि बैठकले आव्हान गरेको छ । साथै हालसम्म पार्टीमा समावेश भइसकेका र हुने व्यक्ति, समुहलाई सहमति अनुसारको जिम्मेवारी दिइनेछ ।
३. राप्रपा स्थापनाको उद्देश्य, हालै सम्पन्न महाधिवेशनले पुनः प्रतिबद्धता गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तह लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित छ । यसमा जुनसुकै अवस्थामा समेत कसैसँग सम्झौता हुन सक्दैन भन्ने राप्रपाको प्रष्ट धारणा रहेको छ । यस सम्बन्धमा भ्रममा नपर्न राप्रपा सबैमा अनुरोध गर्दछ ।
४. पार्टीलाई अनुशासित, मर्यादित बनाउन र पार्टी हित विपरीतका गतिविधिलाई निरुत्साहित गर्न वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्ति प्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहेको ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरिएको छ ।
५. पार्टीको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते बुधबार काठमाडौंमा बस्ने निणर्य गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्