सरकारले घटायो बजेटको आकार, संशोधित बजेट १५ खर्ब ४६ अर्ब

काठमाडौं, माघ २७ । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार घटाएका छन्।मन्त्री शर्माले चालू आवका लागि विनियोजित १६ खर्ब ३२ अर्ब ८३ करोड बजेटलाई घटाई १५ खर्ब ४६ अर्बमा झारेका हुन्।

चालू आर्थिक वर्षको लागि अर्थमन्त्री जनार्दन शर्माले भदौ अन्तिममा अघिल्लो सरकारले ल्याएका आर्थिक अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै बजेट वक्तव्य सार्वजनिक गरेका थिए।

सोही बजेट चालू आर्थिक वर्षमा कार्यान्वयनमा छ। चालू आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन भएको छ।असार मसान्तसम्ममा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएकोमा ६ महिना अवधिमा ३१ प्रतिशत अर्थात् ५ खर्ब रुपैयाँ मात्रै खर्च भएको छ।

चालू आर्थिक वर्षमा राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड र वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड व्यहोरिने बजेटमा उल्लेख थियो।त्यसैगरी चालू, पुँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट व्यहोर्दा ५ खर्ब २२ अर्ब ९ करोड न्यून हुने अर्थमन्त्री शर्माले बताएका थिए।

वित्तीय व्यवस्थातर्फको विनियोजित रकम समेत समावेश गर्दा कुल विनियोजनमा न्यून हुने रकममध्ये वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब ९ करोड र आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब व्यहोरिने उल्लेख थियो।

प्रतिक्रिया दिनुहोस्