एमसीसी विवाद : देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, आ-आफ्नो अडान कायमै

काठमाडौं, माघ २७ ।  सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा छलफल भएको छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज (बिहीबार) विहान एमसीसीबारे छलफल भएको हो ।

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । स्रोतका अनुसार भेटमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै अझै केही समय लिएर मात्रै अघि बढाउनुपर्ने अडान लिएका थिए ।

कम्तीमा चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने भनाइ थियो । तर, प्रधानमन्त्री देउवाले भने आफूले दिएको समय सीमाभित्रै एमसीसी अनुमोदन गराउनु पर्नेमा अडान लिएका छन् । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले यसअघि सामुहिकरुपमा एमसीसीलाई पत्राचार गर्दै फेब्रुअरी २८ भित्र संसद्बाट एमसीसी अनुमोदन गराउने वचन दिएका थिए । तर, माओवादी अध्यक्ष प्रचण्ड त्यो प्रतिवद्धताबाट पछि हटेका छन् ।

बिहीबार बिहान मात्रै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस नेता शेखर कोइरालासँगको भेटमा एमसीसी सम्झौता तत्काल संसद्मा प्रवेश नगराउने गरी प्रधानमन्त्रीसँग छलफल भइरहेको बताएका थिए । एमसीसीलाई चुनावपछिसम्मको समय माग्नुपर्ने उनको भनाइ थियो ।

संसद्बाट एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धनभित्रै मतभेद छ । शीर्ष नेताहरु एमसीसी पास गर्नुपर्ने पक्षमा मत्थर देखिए पनि विपक्षमा बोल्न पार्टीभित्र नेता कार्यकर्ताको दबाब छ । नेकपा एकिकृत समाजवादी निकट भ्रातृ संस्थाहरुले त एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै आन्दोलनको घोषणा नै गरिसकेका छन् ।

यता प्रधानमन्त्री देउवा अहिले एकातिर छिटो एमसीसी पारित गर्ने दबाबमा छन् भने अर्को तर्फ चुनावमा कुनै दलसँग गठबन्धन नगर्न पार्टी भित्रबाट दबाबमा रहेका छन् । संसदमा एमसीसी टेबुल गरेर पारित गर्न सभामुख बाधक भएपछि माघ २६ गतेको बैठकलाई थप छलफल गर्ने भन्दै सरकारकै अनुरोधमा फागुन २ गतेसम्मका लागि सारिएको छ । छलफलमा ठोस निष्कर्ष ननिस्किएमा सभामुखलाई हटाउने सम्मको तयारीमा प्रधानमन्त्री देउवा रहेको उनी निकट नेताहरुले बताएका छन् ।

त्यस्तै अर्को तर्फ लगातार सभामुखको भूमिकाको विरोध गरिरहेको एमालेले पनि सभामुख हटाउने अभियानमा साथ दिने भएपछि प्रधानमन्त्री देउवा गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्ने बाटोमा अघि बढेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्