छिट्टै सबै नागरिकलाई बुस्टर डोज : स्वास्थ्यमन्त्री खतिवडा
काठमाडौं, माघ २६ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज प्रदान गर्ने बताएका छन् ।
बुधबार मन्त्रालयमा नेकपा ( एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपङ्क्तिमा काम गर्नेलाई दिइरहेको बुस्टर डोज केही दिनभित्रै सबै नागरिकका लागि प्रदान गर्ने बताएका हुन् ।
मन्त्री खतिवडाले विद्यार्थीहरूका लागि पनि खोप प्रदान गर्ने काम सुरु भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउने बताए । त्यस्तै उनले कोरानाविरुद्धको थप खोप ल्याउने क्रममा रहेको भन्दै खापको अभाव हुन नदिने बताए ।
विपन्न वर्गका लागि स्वास्थ्य उपचार निस्शुल्क नै रहेको भन्दै सर्वसाधारणमा जानकारी नहुँदा प्रभावकारी हुन नसकेको उनले बताए ।
अनेरास्ववियूले सरकारी र सामुदायिक अस्पतालमा विद्यार्थी, किसान, मजदुर लगाएत आर्थिक अभाव भएका नागरिकको उपचारमा चेकजाँच दर्ता निस्शुल्क बनाएर सहज उपचार गर्ने वातावरण बनाउन माग गर्दै मन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाएको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्