महासंघका अध्यक्ष गौचन अब स्मृतिमा मात्र

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन अब स्मृतिमा मात्र सिमित भएको छ । गौचनको आज दिउँसो राजधानीको व्यस्त स्थान शान्ति नगरमा अज्ञात समूहबाट गोली हानी हत्या भएपछि उनी स्मृतिमा मात्र सिमित भएका हुन् । गौचन परिवार मुस्ताङबाट पोखरामा बसाइँ सरेको छ । पोखरामा आफ्नो व्यवसाय फैलिँदै गर्दा गौचनले नै कास्की निर्माण व्यवसायी संघको स्थापना गरेका थिए । उनले त्यहाँ संस्थापक अध्यक्षका रुपमा काम गरेका थिए ।

गौचन परिवारसहित हाल काठमाडौंको शान्तिनगरमा बस्दै आएका थिए । उनका आमा, श्रीमती, दुई छोरी र एक छोरा छन् । एक छोरी अमेरिका छिन् ।

उनी ०७१ को मंसिरमा नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निर्वाचित भएका थिए ।
यसअघि उनले ३ कार्यकाल महासंघको सचिव हुँदै महासचिवको भूमिका निर्वाह गरेका थिए । उनी एक कार्यकाल सचिव पनि बनेका थिए । केही समय उनी महासंघको सल्लाहकार समेत भएका थिए ।

महासंघका महासचिव रामशरण देउजाका अनुसार अध्यक्ष गौचन सरल प्रवृत्तिको भएकाले नै महासंघको नेतृत्वसम्म आइपुगेको बताए।

देउजाले संस्थागत रुपमा आएका मुद्दालाई उहाँ अध्यक्षको भूमिकामा समन्वयत्मक ढंगले सम्बोधन गर्ने र कसैप्रति व्यक्तिगत इगो नराख्ने व्यक्ति भएको कुरा व्यक्त गरे ।

महासचिव देउजाले घटना निकै दुःखद र निन्दनीय भएको भन्दै गौचनको योगदानको कदर महासंघले उच्च रुपमा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्