माओवादीलाई सखाप पार्न देशीविदेशी प्रतिक्रियावादी लागेका छन् : प्रचण्ड

काठमाडौं, माघ २५ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादीलाई सखाप पार्न देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरु लागेको बताएका छन् ।

आज नेत्रविक्रम चन्द नेतृत्व नेकपाको जिल्ला समितिलाई माओवादीमा प्रवेश गराउँदै उनले माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरुले कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेको आरोप लगाएका हुन् ।

माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै गएको दावी समेत उनले गरे । जनतासँग जोडिँदै माओवादी आन्दोलनलाई केन्द्रित गरेर विजयी हुने उनको भनाइ रहेको छ ।

साथै उनले आफूहरुलाई कसैले परास्त गर्न नसक्ने बताउदै पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति हुने पनि बताए ।

आफूहरु रणनीतिक सोचका साथ अगाडि बढेको भन्दै उनले क्रान्ति गरिन्छ भन्दै माओवादी छाडेकाहरु अहिले मूल पार्टीमै फर्किन थाल्नु सकारात्मक भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्