देउवासँग वार्ता गर्न बालुवाटारमा प्रचण्ड र ओली

काठमाडौं, माघ २३ ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ताका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । अध्यक्ष ओली एमाले महासचिव शंकर पोखरेललाई साथमा लिएर बालुवाटार पुगेका हुन् ।

त्यस्तै देउवासँग त्रिपक्षीय वार्ताका लागि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बालुवाटार पुगेका छन् । प्रचण्ड र देउवाबीच आइतवार बिहान पनि बालुवाटारमै आधा घण्टा वार्ता भएको थियो । उक्त वार्ताका क्रममा दुई नेताबीच ओलीलाई पनि बालुवाटार बोलाउने सल्लाह भएको थियो ।

मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी) को मुख्यालयलाई देउवा-प्रचण्डले यही फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्ने भन्दै गत असोज १३ गते संयुक्त हस्ताक्षरसहितको पत्र पठाएका थिए । त्यो पत्र बालुवाटारले आइतवार बिहान सार्वजनिक गरिदिएपछि देउवासँग वार्ताका लागि प्रचण्ड बालुवाटार पुगेका थिए । पत्र सार्वजनिक भएसँगै सत्तारुढ गठबन्धनमा खटपट बढिरहेका बेला तीन नेता बालुवाटार वार्तामा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्