संकटमा सत्तारुढ गठबन्धन ! टुट्ने संकेत

काठमाडौं , माघ २३ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा विवाद भएपछि सत्तारुढ गठबन्धन टुट्ने संकेत देखिएको छ ।

प्रधानमन्त्री देउवाले एमसीसी र स्थानीय तहको निर्वाचनको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी गरेपछि प्रचण्ड असन्तुष्ट भएका हुन् ।

देउवा र प्रचण्डबीच भएको टेलिफोन वार्तामा एमसीसीको विषयमा असन्तुष्टि व्यक्त गरेको बुझिएको छ । प्रचण्ड उनले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवासँग असन्तुष्ट भएको बताइएको छ ।

प्रचण्डले देउवासँग एमसीसी संशोधनविना पारित गर्न तयार नहुने अडानमा कायम रहेपछि देउवाले एमसीसी संशोधनका लागि अमेरिका नमान्ने र अन्य विकल्पमा अगाडी बढ्ने संकेत गरेपछि दुवै नेताबीच असन्तुष्टि बढेको बताइएको छ ।

एमसीसीलाई देउवा र प्रचण्डले लेखेको पत्र मिडियामा सार्बजनिक भएपछि अहिले राजनीतिमा नयाँ तरंग आएको छ ।

प्रचण्डले स्थानीय तहको निर्वाचन पछाडी लैजाने प्रयत्नमा प्रधानमन्त्री देउवाले साथ नदिएपछि असन्तुष्ट बनेका प्रचण्ड अब एमसीसीको पक्षमा पनि नलाग्ने बरु गठबन्धनबाट बाहिरिने रणनितिमा रहेको विश्लेषण गरिएको छ । एमसीसी र स्थानीय तहको निर्वाचनले शिर्ष नेताहरुमा विवाद बढेसँगै प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो सम्बन्ध विस्तार गर्न लागेका छन् ।

केहि साता अघि उनको निवासमै पुगेर छलफल गरेका देउवाले आज बालुवाटारमा ओलीलाई बोलाएर छलफल गर्ने भएपछि सत्तारुढ गठबन्धन अब तोडिने दिशा तर्फ गरिरहेको राजनीतिक वृतमा चर्चा चलिरहेको छ ।

यसरी देउवा र ओलीबीच नयाँ समझदारी बनेमा यसको असर सभामुखदेखि नेकपा एकीकृत समाजवादीलाई समेत पर्नसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्