वैदेशिक रोजगार विभाग कार्यालयमा मन्त्री श्रेष्ठको अनुगमन, भने– पीडितको गुनासो सिरियस्ली सुन्नुस्

काठमाडौं, माघ २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन्।

आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न विभागलाई निर्देशन दिएका हुन्।

आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरुले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै विभागका कर्मचारीहरुले कार्यशैलीमा सुधार गर्न पनि उनले निर्देश गरेका छन् ।

विभागको अनुगमनपछि गर्दै मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने श्रमिकहरुलाई सहजीकरण गर्नका लागि केही दिनमै श्रमिक सहायता कक्ष सञ्चालन हुने बताए।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागलाई कसरी सुधार गर्ने, विभागका समस्याहरु के–के रहेका छन् र पीडितका गुनासोलाई कसरी छिटोभन्दा छिटो सुनुवाई गर्न सकिन्छ भन्ने विषयमा विभागका महानिर्देशक, निर्देशकलगायतका कर्मचारीहरुले छलफल गरी मन्त्रालयमा पेश गर्न पनि आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्