कोरोना संक्रमण घट्दै, सवारीसाधनको जोरबिजोर पूर्ण रूपमा हटाउने तयारी

काठमाडौं, माघ २३ । काठमाडौं उपत्यकामा सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली पूर्ण रूपमा हटाउने तयारी गरिएको छ । कोरोना संक्रमणको जोखिम घट्दै गएकाले निजी सवारीसाधनमा कायम जोरबिजोर हटाउने तयारी गरिएको हो ।

कोरोना संक्रमण घट्दै गएकाले अब सहजीकरण गर्दै लैजाने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । यसबारे समीक्षा भइरहेको बताउँदै उनले अब स्मार्ट लकडाउनको प्रावधान खुकुलो बनाउँदै सहजीकरण गर्ने तयारी भइरहको जानकारी दिए ।  यता आजदेखि केही नगरपालिकामा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले यसबारे थप निर्णय गर्नेछ । त्यसपछि उपत्यकाका तीन जिल्ला ( काठमाडौं, भक्तपुर र ललितपुर)का प्रजिअको बैठक बसेर आजै नयाँ आदेश जारी हुन सक्ने प्रजिअ रिजालले जानकारी दिए ।

सिनेमाहल, जिमखाना, पार्टीप्यालेसलगायत भिडभाड हुने क्षेत्रहरू बन्द छन् । यसबाहेक सार्वजनिकस्थलमा २० जनाभन्दा बढी भेला हुन नपाइने गरी आदेश जारी गरिएको थियो । अहिले विस्तार खुकुलो हुँदै जान थालेकोछ । कोरोना संक्रमण पनि घट्दै जानथालेको छ ।

प्रतिक्रिया दिनुहोस्